Uncategorized

तीज गीत प्रतियोगितामा डस्विन उपहार

बेला बेलामा सामाजिक संस्थाले राम्रा राम्रा काम गरेको भेटिन्छ । सामाजिक चेतनाको विकास होस्, कि सामाजिक सद्भावको विकास सामाजिक संस्थाको अहम् भूमिका हुन्छ नै । त्यसमा पनि पछिल्लो समय स्थानीय क्लब र आमा समूहले समाजका निम्ति रचनात्मक काम गरेको देखिन्छ । जाँड रक्सी नियन्त्रण होस् कि जुवातास, सरसफाई होस् कि युवा सशक्तीकरण स्थानीय क्लबको भूमिका प्रशंसनीय छ । त्यस्तै उदाहरणीय काम गरेको छ, कास्कीको रुपा गाउँपालिकाको ध्रुवतारा क्लबले।

तीज गीत प्रतियोगितामा ध्रुवतारा क्लबले सहभागी समूहलाई एउटा एउटा डस्टविन वितरण गरेर उदाहरणीय काम गरेको हो । रुपा क्षेत्र पछिल्लो समय पर्यटकको नयाँ गन्तव्य बन्दै गरेको छ । आफैँ पनि प्रकृतिको सुन्दर उपहार रुपा गाउँपालिकालाई स्वच्छ र हराभरा राख्न डस्टविन वितरण गरेको क्लबका उपाध्यक्ष त्रिविक्रम के.सीले जानकारी गराए । क्लबले सहभागी आठवटा समूहलाई डस्टविन वितरण गरेको थियो ।

भिरचोक आमा समूह र ध्रुवतारा युवा मञ्चको आयोजना तथा ध्रुवतारा क्लबको संयोजनमा आयोजित तीज गीत प्रतियोगितामा प्रमुख अतिथि समेत रहेकी रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले पनि क्लब र आमा समूहको खुलेर प्रशंसा गर्दै कार्यक्रमका लागि बीस हजार रुपियाँ गाउँपालिकाले उपलब्ध गराउने घोषणा गरिन् ।

तीज गीत प्रतियोगितामा जागृति आमा समूह भोर्ले प्रथम, स्याङ्गाली नेवा खल दोस्रो, भिरचोर आमा समूह तेस्रो र रुपाज्योति मा.वि.‘ख’ सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार पुरस्कारसहित प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको निर्णायक संयोजकमा कृष्ण प्रसाद काप्mले र निर्णायक सदस्यहरुमा हरि अधिकारी र राजन पँगेनी रहेका थिए ।

भिरचोक आमा समूहको अध्यक्ष बालमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन ध्रुवतारा क्लबका अध्यक्ष प्रेम कुमार खड्काले गरेका थिए । क्लबका उपाध्यक्ष त्रिविक्रम के.सीको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडा नं ६ का अध्यक्ष तथा क्लबका सल्लाहकार नारायण गुरुङ, रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष तिल बहादुर खड्काले शुभकामना मन्तव्य व्यक्त गरे । क्लबका सचिव मोहम्पद मोहसिन मियाले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *