विचार संस्कृति

तीज: हिजो र आज

तीज पर्वलाई हिन्दू नारीहरुको महान पर्वको रुपमा लिइन्छ । हिन्दू नारीहरुले यस दिन निराहार व्रत बसेमा आफूले माग गरे अनुसारको फल प्राप्त हुने विश्वास छ । भाद्र शुक्ल तृतीयाको दिनलाई हिन्दू नारीहरुले आफ्नो खुशीयाली बाँड्ने दिनको रुपमा अर्थात् तीजको रुपमा मनाउने गर्दछन् ।

तीजको परम्परागत महत्त्व

किंवदन्तीअनुसार आफ्नी सङ्गिनी आलीद्वारा हरेर जंगलमा पु¥याएकी पार्वतीले विष्णुसँग विवाह नहोस् र महादेव नै पति बनून् भनी बसेको व्रत नै तीज हो । आफ्नो विवाह विष्णुसँग हुने पक्कापक्की भएपछि पार्वती आफूले मन पराएका महादेवलाई स्वामी बनाउन पाउनुपर्छ भन्दै घरबाट भागेर जंगलमा गई महादेवको पूजा आराधनामा लिन हुन्छिन् । आफ्नो सानैदेखिको अठोट महादेवलाई पति पाउनु रहेको बताउँछिन् । पार्वतीले सानैदेखि खेल्दासम्म शिवलिङ्ग बनाई फूल चढाउने र आफ्नो हृदयमा शिवबाहेक अरुलाई राख्न नसक्ने उनको विवाह महादेवबाहेक अरुसँग हुन नसक्ने भने पनि पार्वतीका आमाबुबालाई भने महादेव मन परिरहेको थिएन । शरीरभरि खरानी घस्ने, घाटीमा सर्पको माला लगाउने, २४ घण्टा विषभाङ् धतुरोको नसामा लट्ठिने महादेवलाई ज्वाईं बनाउन मन पराइरहेका थिएनन् । तसर्थ उनीहरुले पार्वतीको योग्य वरका रुपमा महादेव नभई विष्णुलाई रोजेका थिए । यता पार्वती महादेवबाहेक दोस्रो व्यक्ति आफ्नो पति बन्न नसक्ने भन्दै घरबाट भागिन् । पारिवारिक विद्रोह गरी जंगल पसेकी पार्वतीको परीक्षणको लागि महादेवले छद्मभेषी रुपमा आफू विष्णु बनी आफूसँग विवाह गर्न अनेक बहाना बनाउँछन् । सोही समयमा आक्रोसित पार्वतीले आफूलाई महादेवभन्दा दोस्रो व्यक्ति स्वीकार्य नहुने बताउँदै आफूलाई कुदृष्टिले हेर्ने व्यक्तिलाई ठूलो सराप दिने बताएपछि महादेवले आफ्नो वास्तविकता खुलाउँछन् । आफूले मनमा सजाएको व्यक्ति आफ्नो अगाडि देखेपछि पार्वतीले खुसी व्यक्त गर्छिन् । अनि दुवै विवाह बन्धनमा बाँधिन्छन् । यसरी पार्वतीले आफ्नो व्रतको सार्थकता पाएको दिन नै तीजको दिन हो भन्ने भनाइ छ ।

अहिले पनि तीजको दिन विवाहिता हिन्दूनारीले आफ्नो पतिको दिर्घायुको लागि बिहानैदेखि व्रत बसी नाचगानमा सामेल हुन्छन् भने अविवाहित नारीहरु योग्य वर पाऊँ भनी शिव पार्वतीको आराधना गर्दछन् । परम्परागत रुपमा चलिआएको तीजले आफ्नो लामो यात्राको क्रममा थुप्रै परिवर्तन ल्याएको छ ।

सांस्कृतिक विचलनतर्फ तीज

तीज मान्ने र मनाउने पनि नयाँनयाँ तरिका अपनाउन थालिएको छ । कतिले यसलाई नयाँ लुगा फेर्ने पर्व, कसैले गरगहनाबाट सजिने पर्व भने कसैले साथीसँगीको भेटघाट र खुशीयाली, त्यस्तै कतिले वर्ष दिनको सुख, दुःख, पीडा, वेदना पोख्ने पर्व भन्दछन् भने महिलाले आफ्नो हक अधिकार माग्ने र स्वतन्त्रताको खोजी पनि भन्दछन् । जे जसरी परिभाषित गरे पनि तीज पर्व महिलाका पीडा, वेदना पोख्ने र हक अधिकारको आवाज बुलन्द गर्ने पर्व हो भन्दा गल्ती नहोला । अर्को विशेषताको रुपमा नेपाली समाजको चित्रणको रुपमा पनि तीज पर्वलाई लिन सकिन्छ । नेपाली समाजमा रहेका विकृतिलाई गीतको माध्यम बनाई नाचगान रमाइलो गरी मनाउनमा नै महिलाहरु तीजमा व्यस्त हुन्छन् । भक्तिभावबाट सुरु भएका नेपाली तीज गीतमा थुप्रै परिष्कार भएको पाइन्छ । पुराना तीजका गीतमा ईश्वरीय भक्तिभावकै प्रवलता भेटिन्छ । आजभोलि यस्ता गीत कम गाउने गर्दछन् ।

नारीहरुले यस पर्वलाई आफ्नो दुःख, पीडा र वेदनाहरु पोख्ने पर्वका रुपमा मनाउने गरेका छन् । उनीहरुले सासू, पति, अन्य घरपरिवारको अन्याय र अत्याचारलाई विषयवस्तु बनाई गीत गाउने गर्दछन् ।

तीजमा आजभोलि सस्ता, हल्का र विकृतिमूलक कामहरु पनि हुन थालेका छन् । महङ्गा गरगहना लगाउने, विशेषतः महिलाकै पर्व भएपनि पुरुषहरु पनि यसमा सहभागी भई दोहोरी गीत गाउने साथै राजनैतिक रङ दिई गाली गलौज गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ ।

आफ्नो वर्षभरिका दुःख, पीडाहरु बिसाउने पर्वका रुपमा लिइएको र आफ्नो अधिकार र स्वतन्त्रताका निम्ति सुरु गरिएको यस पर्वमा दुई तीन महिना अघिबाटै मनाउन थाल्नु, विकृति र विसङ्गति बढाउने कार्यहरु गर्नुहुँदैन । आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्दछ ।

नेपालको सन्दर्भमा तीज एक विशिष्ट र ऐतिहासिक महत्त्वको सांस्कृतिक पर्व हो । आधुनिकता वा अन्य कुनै बहानामा तीजको महत्त्वलाई कम आँक्न मिल्दैन । तीज मान्ने बहानामा देखा परेका अन्धविश्वासलाई हटाउँदै आडम्बरी महङ्गा गरगहना र सुनको प्रतिस्पर्धालाई कुना लगाउँदै महिला जागरण, महिला सशक्तिकरण र एकताका पक्षमा आवाज उठाउनु वर्तमानको आवश्यकता हो । आगामी दिनमा तीजले उत्पीडित महिलाको आवाज बोल्न र समाजका विकृतिको भण्डाफोर गर्न सकेमा मात्र तीज पर्व सार्थक बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post