शिक्षा समाचार

तेस्रो लिङ्गीहरुको गुनासो

तेस्रो लिङ्गीहरुले विद्यालय तथा शिक्षा क्षेत्र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री बन्न नसकेको गुनासो गरेका छन् । ब्ल्यु डाइमण्ड सोसाइटीले पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समितिका प्रमुख नारायण सुवेदीले ‘जसलाई चोट लागेको छ उसले नै चोटको पीडा बुझ्छ’ भन्दै लिङ्गका आधारमा नभई व्यक्तिको व्यवहारलाई मूल्याङ्कन गर्नुपर्ने बताए । उनले भने –‘नैसर्गिक गुण व्यक्तिको दोष होइन । तसर्थ यसलाई अभिशाप मान्नु हुँदैन ।’ उनले तेस्रो लिङ्गीलाई हेर्ने सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको औंल्याए । कार्यक्रममा अष्टे«लियन मिसन हेड ग्राहम मर्फीले तेस्रो लिङ्गीका अधिकार स्थापित गर्न अष्ट्रेलिया र नेपालको सहकार्य रहँदै आएको बताए ।

कार्यक्रममा ब्ल्यु डाइमण्ड सोसाइटीका अध्यक्ष पिङ्की गुरुङले तेस्रो लिङ्गीका बारेमा विद्यालयमा जानकारी नहुँदा तेस्रो लिङ्गीलाई उच्च शिक्षा हासिल गर्न कठिन भएको बताए । उनले भने –‘अझै पनि तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । विद्यालयहरु तेस्रो लिङ्गी मैत्री बन्न सकेका छैनन् ।’

कार्यक्रममा ब्ल्यु डाइमण्ड सोसाइटीका कार्यकारी निर्देशक मनिषा ढकालले कानुनी रुपमा तेस्रो लिङ्गीका अधिकार स्थापित भए पनि समाजले अझै पनि स्वीकार्न नसकेको गुनासो गरिन् । कार्यक्रममा सुमन नेपाल, सञ्जय शर्मा, भूमिका श्रेष्ठ, रमेश सुवेदी, र चेतना नेपालका अध्यक्ष देवी बस्यालले तेस्रो लिङ्गीका अधिकार स्थापित हुनुपर्नेमा जोड दिए ।

अष्ट्रेलियन मिसन एडको सहयोगमा सञ्चालित कार्यक्रममा पर्वत र स्याङ्जाका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

23 Shares
Share23
Tweet
Pin