विचार शिक्षा

दमनमा उद्यत शैक्षिक उद्यम

म मेरो हेडमास्टरसँग शिर ठाडो गरेर बोल्ने हिम्मत गर्न सकिनँ । किनकि म विद्यार्थी थिएँ । मलाई गोडा फाट भनियो, गोडा फाट गरेँ । हातमाथि भनियो, हात माथि लगेँ । हात तल भनियो तल झारेँ । दाँया बाया भनियो, त्यसै गरेँ । मलाई घुँडा टेक्न लगाइयो, घुँडा टेकेँ ।….कुखुरा बनेँ । हो, म पुरै आज्ञाकारी र अनुशासित बनेँ । म संस्कारयुक्त विद्यार्थी बनेँ ।

म मेरा शिक्षकसँग प्रति प्रश्न गर्ने हिम्मत गर्न सकिनँ किनकि उहाँ शिक्षक हुनुहुन्थ्यो, म विद्यार्थी । मेरो प्रश्न र जिज्ञासा कक्षामा होहल्ला भयो, मैले सहेँ । मलाई शिक्षकलाई सिधै हेर्न हुन्न भनेर सिकाइयो, त्यसै गरेँ । मलाई अरुले लेखेका ठूला ठूला ठेली कण्ठस्थ गर्न लगाइयो, कण्ठस्थ गरेँ । जब मलाई पूरै अनुशासनको नियमले बाँधियो तब म अब्बल विद्यार्थी ठहरिएँ । तर म आज जब विगततिर फर्किएर बुझ्न थालेँ तब त्यो फगत ममाथि अनुशासनका नाममा लगाइएको लगाम थियो । त्यो केबल मेरो शारीरिक र भौतिक अवस्थाको मात्र नभएर मानसिक सिर्जनशीलता र बौद्धिकता माथिको लगाम थियो । जसरी मलाई अनुशासनका नाममा एकपछि अर्को बहानामा कैद गर्दै गइयो, त्यसरी नै मेरो सिर्जनशीलता र ज्ञानलाई खुम्च्याउदै लगियो । यो दमनको संस्कृतिबाट म मात्र नभई मजस्ता लाखौँ विद्यार्थी पीडित बने र आज पनि पीडित छन् ।

विद्यालयलाई शिक्षाको मन्दिर मानिन्छ । जहाँ स–साना कलिलो मस्तिष्कका विद्यार्थीहरुको सुन्दर संसार सजाउने कला, समाजप्रतिको अपनत्व र परिवारप्रतिको दायित्व, जिम्मेवारी बोध गर्ने क्षमताको विकास हुन्छ भन्ने विश्वास गरिएको हुन्छ । विद्यार्थीलाई जिज्ञासु बनाउनु, प्रश्नकर्ता बनाउनु र स्वविवेक र सामाजिक चेतको विकास गराउनु विद्यालयको जिम्मेवारी हो । न कि दुई चार बनावटी प्रश्नको उत्तर घोकाएर अब्बल विद्यार्थीको दर्जा दिनु ?

मेरो मनमा एउटा प्रश्न सधैँभरि नाचिरहन्छ । एउटा विद्यार्थी विद्यार्थी जस्तो भएर शिक्षा आर्जन गर्न पाउने कि अरुको निर्देशनमा अरुले निर्माण गरेका ज्ञानलाई आफ्नो ज्ञान ठानेर सन्तुष्ट बन्ने ? एउटा विद्यार्थीले स्वतन्त्र र स्वतस्फूर्त ज्ञान आर्जन गर्न पाउने अधिकार, सिर्जना र आविष्कारको बाटोलाई अबरुद्ध गर्ने कि स्वतन्त्र छोड्ने ? यी प्रश्न केवल जिज्ञासामात्र होइनन् । हाम्रो पठन संस्कृति र हाम्रो वास्तविकतासँग जोडिएका छन् ।

आजका विद्यार्थीमा आलोचनात्मक चेत छैन होइन, आलोचनात्मक चेतलाई दबाउने प्रयास भएको छ । अनुशासनको बहानामा होस् या अन्य कुनै । दमित र क्षणिक घोकाइ देखावटी र बनावटी हुन जुन क्षणिक हुन्छ । ज्ञान स्वतःस्फूर्त मार्गबाट मात्र सम्भव छ । जो व्यक्तिले आफ्नो निजत्वबाट आर्जन गर्छ । यो कसैको दबाबमा आर्जन गर्ने जिनिस होइन । आलोचनात्मक चेत पनि यसैबाट प्राप्त हुन्छ ।

विद्यार्थीलाई आलोचनात्मक चेतको विकासविना नै अब्बल बनाउन खोज्दा त्यसले उसको भविष्यमा कस्तो प्रभाव पार्ला ? यसप्रति खै सचेत बनेको ? व्यक्तिको व्यक्तित्व विकासमा दुइटा कुराले महत्त्वपूर्ण भूमिका खेल्छ । पहिलो स्वनिर्णय क्षमता र दोस्रो आलोचनात्मक चेत । आलोचनात्मक चेत भनेको केवल आलोचनामात्र गर्ने भन्ने होइन । यो त राम्रोको समर्थन र नराम्रोको विरोध हो । जो सचेत व्यक्तिले मात्र गर्न सक्छ । स्वनिर्णयको क्षमता पनि यसैबाट विकास हुन्छ ।

यसै सन्दर्भमा प्रसिद्ध भाषाशास्त्री नोमचमस्कीको शिक्षा सम्बन्धी विचार मननीय देखिन्छ । उनकाअनुसार, ‘हाम्रा अधिकांश शैक्षिक संरचना अनुशासन र वफादारी सिकाउने तथा प्रश्नमाथि दमन गरिने सांस्कृतिक कारखाना हुन् ।’ उनको यो विचार शताब्दियौँ अगाडिको विचार हो । त्यसपछि पनि शिक्षा क्षेत्रमा अनेकन वद्लाब आएको देखिन्छ । तर पनि दमन संस्कृतिलाई भने हामीले त्याग्न सकेका छैनौँ । विद्यार्थी काँचो माटो हुन् । जस्तो आकार दियो त्यस्तै बन्छन भन्ने पुरानो मान्यता अझै पनि कायम छ । अब विद्यार्थीलाई हाम्रो चाहनानुसारको आकार दिने नभई उनीहरुको चाहनानुसार आफ्नो आकार आफैँ निर्माण गर्ने परिवेश निर्माण गरिनुपर्छ । माटो र मस्तिष्कलाई कुनै अर्थमा पनि तुलना गर्न सकिँदैन ।

ज्ञानको उत्पादन सत्तासँग जोडिने विषय हो । सत्ताले जस्तो ज्ञान उत्पादन गर्छ, नागरिकले त्यसलाई नै ज्ञान ठान्छन् भन्ने विषय अब पुरानो भयो । अब सबैसँग आलोचनात्मक चेत नभए पनि केहीसँग सत्ताको ज्ञानलाई अवज्ञा गर्ने हिम्मत जुट्न सक्छ । आलोचनामात्र नभई फरक धारको ज्ञान विकास गर्न सक्छ । अबको सत्ताले व्यक्तिको चेतलाई नियन्त्रण गर्न खोजेर नियन्त्रण गर्न सम्भव छैन । विश्व परिवेश र विज्ञान प्रविधिले धेरै कुरा सत्ताको पहुँचभन्दा बाहिर राखेको हुनसक्छ ।

अबको ज्ञान जिज्ञासा, तर्क र प्रश्नबाट निर्मित हुनुपर्छ । शिक्षकको प्रश्नको जवाफ दिनेमात्र नभई विद्यार्थीको प्रश्नको समाधानमा केन्द्रित हुनुपर्छ । विद्यार्थी केवल शिक्षकको प्रश्नको जवाफ दिन्छ भने आफ्नोपनको विकास कसरी सम्भव हुन्छ ? प्रश्न सोध्नु हल्ला होइन, जिज्ञासा राख्नु अज्ञानता होइन, आफ्नोपनको विकास हो । प्रश्न र जिज्ञासाबाट आर्जित बौद्धिकता नै ज्ञान हो । यसले नै विद्यार्थीको बौद्धिकता र सिर्जनशीलताको विकास गर्छ ।

नेपालको सन्दर्भमा प्रायः सबैजसो शिक्षणसंस्था नियन्त्रणमुखी छन् । निजी हुन् कि सार्वजनिक वा सामुदायिक सबै शिक्षण संस्थामा यो दमनको प्रवृत्ति हावी छ । विद्यार्थीको स्वतन्त्र सिकाइको मार्गलाई अवरुद्ध गर्ने दमनको संस्कृति कायम छ । अनुशासित र वफादार बनाउने बहानामा विद्यार्थीर्को स्वतन्त्र मार्गलाई कुण्ठित गर्ने र प्रश्नमाथि दमन गर्ने प्रवृत्ति रहेसम्म एउटा वफादार रैती त बन्न सक्ला तर सक्षम र असल नागरिक बन्न सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post