क्रिकेट खेलकुद

नेपाललाई ऐतिहासिक सफलता, जित्यो एकदिवसीय सिरिज

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमेको थियो । नेपालको स्कोर १९ रन हुँदा ओपनर विनोद भण्डारी ९ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

Source: Onlinekhabar, ICC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post