विचार समाचार

भर्ना अभियानको औचित्य

सरकारले सामूदायिक विद्यालयमा झण्डै डेढ दशकदेखि विद्यार्थी भर्ना अभियान चलाउँदै आएको छ । यस वर्ष पनि शैक्षिक सत्रको सुरु हप्तालाई विद्यार्थी भर्ना अभियानका रुपमा निरन्तरता दियो । झण्डै ४ लाख विद्यालय जाने उमेरका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेका अवस्थामा सरकारले चालेको यो कदम पक्कै नै स्वागतयोग्य छ ।

सरकारले यही वैशाख २ गतेबाट विशेष गरेर विपन्न वर्गका शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकाका लागि भर्ना तथा पुस्तक वितरण कार्यक्रमलाई महाअभियानका रुपमा नै अगाडि बढायो । प्रधानमन्त्रीदेखि मन्त्री, सभासदले समेत सक्रिय रुपमा यो अभियानमा साथ दिएको देखियो । प्रतिपक्ष दलका केही नेता समेत सरकारको यो कदममा साथ दिए ।

 

यस वर्ष विद्यार्थी भर्ना अभियानको नारा ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत शिक्षा’ लाई सार्थकता प्रदान गर्न प्राय सरकारमा सहभागी सबै नेताले उत्साहका साथ उत्सवकै रुपमा सहभागिता जनाए । विशेष गरेर विपन्न वर्गका बालबालिकामा लक्षित यस कार्यक्रमले सफलता पाएको सरकारको मनसाय बुझ्न सकिन्छ ।

सरसर्ती हेर्दा दुई कोणबाट यो अभियान केही हदसम्म फलदायी मान्न सकिन्छ । पहिलो आंशिक भए पनि सरकारी कर्मचारी र शिक्षकका बालबालिका सामूदायिक विद्यालयमा तान्न सफल रह्यो । दोस्रो सामूदायिक विद्यालयमा अब केही सुधार हुन्छ कि भन्ने झिनो आशा समेत जगायो ।

तर भर्ना अभियानको सार्थकता सामूदायिक विद्यालयप्रति अभिभावकको विश्वास छ कि छैन भन्ने कुरामा अडेको हुन्छ । यो कुरामा भर्ना अभियान जुन रुपमा प्रभावकारी हुनुपर्ने हो, त्यो चाहिँ हुन सकेन । अझै पनि सामूदायिक विद्यालयप्रति अभिभावक विश्वस्त बन्न सकेका छैनन् । त्यो कुरालाई निजी विद्यालयको विद्यार्थी भर्ना संख्याले थप स्पष्ट पारेको छ ।

 

अझै पनि सामूदायिक विद्यालय राजनीतिका बलिया अखडा हुन् भन्ने कुराको छाप अभिभावकको मस्तिष्कबाट हट्न नसकेको अवस्था छ । त्यसै गरी विगत दशकको कमजोर नतिजाले पनि अभिभावकको आशङ्कामा थप ऊर्जा थपेको छ । अर्को अभिभावकको मन जित्न नसक्नुको कारण यसको कमजोर व्यवस्थापन पक्ष हो ।

सामूदायिक विद्यालयप्रति साँच्चै विश्वास जगाउने र भर्ना अभियानलाई सार्थक तुल्याउने हो भने पहिले सरकारले शिक्षण संस्थालाई राजनीतिबाट मुक्त पार्न सक्नु पर्दछ । दोस्रो गुणस्तरमा ध्यान दिन जरुरी छ । जसका लागि व्यवस्थापन पक्षमा सुधार आवश्यक छ । तब मात्र भर्ना अभियानको औचित्य रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

23 Shares
Share23
Tweet
+1
Pin