साहित्य

भौतिक र अभौतिक संसारलाई जोड्ने ज्ञान नै भावातीत ज्ञान

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको नियमित कार्यक्रम अन्तर्गत शनिबार भागवद्गीताको भावातीत/अनुभवातीत ‘ट्रान्सेनडेन्टल’ ज्ञानका बारेमा परिचर्चा भयो ।

‘द ट्रान्सेनडेन्टल इन द भागवद्गीता’ शीर्षकमाथि विद्यावारिधि गरेका संस्थाका आजीवन सदस्य डा. सवीन्द्रराज भण्डारीले शोधप्रबन्धको सार प्रस्तुत गर्दै भौतिक जगत् र अभौतिक जगत्लाई जोड्ने ज्ञान नै भावातीत ज्ञान भएको धारणा प्रस्तुत गरे । अध्ययनका क्रममा आफूले पाश्चात्य दर्शनसँग गीतामा व्यक्त दर्शनको तुलनात्मक अध्ययन गरेको र प्लेटोदेखि नित्से, हेडेगरसम्मका पश्चिमी दार्शनिकमा गीताको प्रतिध्वनि गुन्जिएको आफूले पाएको उनको धारणा थियो । प्रशिद्ध अङ्ग्रेजी कवि टी.एस. इलिएटलाई उद्धृत गर्दै उनले भने : ‘पूर्वीय दर्शनका तुलनामा पश्चिमी दर्शन स्कुले केटाकेटीजस्ता देखिन्छन् ।’

उनले अगाडि भने : ‘पश्चिमी दर्शनमा कुनै एक चिजलाई बढी महत्त्व दिइएको पाइन्छ वा ती खण्ड–खण्डमा प्रस्तुत छन् तर गीताले ऋग्वेददेखि वर्तमानको ब्ल्याक होलको धारणा तथा क्वान्टम फिजिक्सले उठाएका प्रश्नको समेत उत्तर दिने भएकाले यो पूर्ण दर्शन हो साथै यसले छनौटको अधिकारलाई समेत सुरक्षित गरेकाले यो लोकतान्त्रिक दर्शन पनि हो ।’

कार्यक्रममा प्रा.डा. विष्णुप्रसाद पौडेल, डा. लक्ष्मीशरण अधिकारी, डा. जगन्नाथ रेग्मी, डा. भानु कँडेल, डा. भोलानारायण रेग्मी, डा. टीकाराम आचार्य, सुलोचना खनाल, रवीन्द्र माकाजु, केशवशरण पराजुली, वेदहरि तिमिल्सिना, नारायण गुरागाइँ, कृष्ण त्रिपाठी टङ्क बराल र रविभक्त बरालले आ–आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए ।

धार्मिक अतिक्रमणले समाज थिलोथिलो बनेका अवस्थामा अनुसन्धानबाट निस्किएको यस्तो महत्त्वपूर्ण ज्ञानलाई आम जनमानसमा प्रसार गर्नुपर्ने साथै गीताप्रति भक्तिभावले हेर्दा एउटा अर्थ र तार्किक तथा तटस्थ बनेर हेर्दा अर्कै अर्थ आउने भएकाले त्यसतर्फ पनि ध्यान पुर्याउनुपर्ने उनीहरूको धारणा थियो ।

कार्यक्रममा विद्यवारिधि सम्पन्न गरेकामा कार्यसमिति सदस्य डा. टीकाराम आचार्य र आजीवन सदस्य डा. सवीन्द्रराज भण्डारीलाई सम्मान पनि गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post