विचार शिक्षा समाचार

विद्यार्थी मापनको आधार के ?

वस्तु मापनका निश्चित मापदण्ड र आधार छन् । ठोस, तरल र ग्याँस मापनका आफ्नै मापदण्ड र आधारसमेत छन् । वजनको मापन पक्कै नै सरल हुन्छ । प्रविधिले वस्तुको गुणको मापनलाई समेत सरल बनाएको छ । यसको तुलनामा मानवीय स्वभाव, आचरण, व्यवहार र परिवर्तनलाई मापन गर्नु निश्चित नै कठिन कार्य हो । मानवीय संवेग क्षमताको मूल्याङ्कन र मापनको कसी केलाई मान्ने जटिल प्रश्न उब्जन्छ नै । झनै उदेकलाग्दो विषय त के छ भने संवेदनशील विषयमा समेत सतही मापन हुनु झनै डरलाग्दो भएन र !

यहाँ उठाउन खोजेको विषय शिक्षा क्षेत्रको एउटा जटिल समस्यासँग सम्बन्धित छ । नेपालका सन्दर्भमा विद्यार्थी सक्षमताको मापनको कसी अन्तिम परीक्षालाई बनाइन्छ । विद्यालय तहको शिक्षा विषयगत ग्रेडिङमा मापन गरिन्छ । १ वर्षमा पढेको विषयवस्तुलाई विद्यार्थीले ३ घण्टामा जसरी व्यक्त गर्छन् वा लेख्छन् त्यो नै विद्यार्थीको स्तर मापनको आधार मानिएको छ । जबकि ग्रेडिङ प्रणालीले त्यसो भन्दैन । ग्रेडिङ प्रणालीअनुसार प्रत्येक दिनको कार्य सम्पादनको आधारमा अभिलेखित मूल्याङकन नै तह वा स्तर निर्धारणको आधार मानिन्छ । यस मामलामा सरोकारवाला निकाय बेखवर देखिन्छन् । शैक्षिक नीति निर्माण कर्ता होस् कि विद्यालय वा विश्वविद्यालय सबै तहमा यो समस्या यथावत् छ ।

अर्को प्रश्न, ३ घण्टामा लिइएको परीक्षाले विद्यार्थीको समग्र मूल्याङकन हुन्छ कि हुँदैन ? उत्तर आउँछ हुँदैन । किनकि यो मूल्याङकन एकाङ्की छ । यसले केवल एउटा पक्षलाई मात्र मूल्याङकन गर्छ । यसले विद्यार्थी मूल्याङकनको आधार अक्षर र अङ्कलाई मात्र मान्छ । त्यसो भए हामीले पढाउने नैतिक शिक्षा र सामाजिक शिक्षाको मापन अक्षर वा अङ्कले गर्छ वा नैतिक आचरण र सामाजिक व्यवहारले गर्छ ? यस्तो संवेदनशील विषयमा शिक्षा सरोकारवालाहरु किन बेखवर ?

एकजना सहपाठी मित्रले कक्षाकोठाबाट बाहिर निस्कदा थकित मुद्रामा गुनासोको पोको फुकाउनुभयो–‘पढाउन नसकिने भो ।’ मैले बुझेँ– वहाँको सङ्केत विद्यार्थीको आचरणसँग सम्बन्धित थियो । दिनहुँजसो अभिभावकका गुनासा आउँछन् –‘घरमा भनेको मान्दैन सम्झाइदिनुहोला ।’ एकदिन एकजना शिक्षक मित्रले बताउँदै हुनुहुन्थ्यो –‘आजकलका केटाकेटी बिग्रे । आज पाँच कक्षामा पढ्ने केटाहरु फुटबल हारेको झोँकमा रेष्टुरेन्टमा छिरेर चुरोट तानेको देखेँ । होटलवालालाई सम्झाएँ पनि ।यस्ता ओठ निचोर्दा दूध आउने जस्ता बालकलाई चुरोट दिनुहुन्न भन्ने बताएँ । तर मेरो कुराले होटलवालालाई कत्ति पनि छोएन ।’ यी एक दुई प्रतिनिधि घटना मात्र हुन् । यो वास्तविकता हो । न विद्यालयमा हामीले नैतिक र चरित्रवान् विद्यार्थी उत्पादन गर्न सक्यौँ न त परिवार र समाजबाट नै राम्रा कुरा ग्रहण गर्ने संस्कार र परिपाटीको विकास हुन सकेको छ । विद्यार्थीको सामाजिक व्यवहारमा परिवर्तन आएन भने कहिलेसम्म ए वा ए प्लस आयो भनेर गर्व गर्ने ?

विद्यार्थी मापनको आधार केवल विषयगत ज्ञान मात्र हुन सक्दैन । भाषामा कमजोर भएको गणित, विज्ञान,अन्य प्राविधिक विषयमा अब्बल हुन सक्छ । गणित, विज्ञानमा कमजोर विद्यार्थी कला, साहित्यमा राम्रो हुन सक्छ । यसका अलवा अभिनय र खेलकुदमा राम्रो हुन सक्छ । तर यी सबैसँग जोडिने विषय नैतिक आचरण र सामाजिक व्यवहार हो । एउटा विद्यार्थीले घर, परिवार, राष्ट्र, राष्ट्रियतासँग सम्बन्धित नैतिक आचरण व्यवहार नसिकेसम्म कसरी ज्ञान आर्जन गरेको मान्ने ?

अर्को कुरा हाम्रो शिक्षाको मापनको आधार अति अल्प र क्षणिक देखिन्छ । विद्यार्थीको पृष्ठभूमि, पारिवारिक अवस्था र समाजको संरचनालाई वास्ता नगरी दुई चार लाइन घोकेको र २,४ वटा हिसाब जानेको अर्थमा मात्र विद्यार्थी मूल्याङ्कन गर्दा कतै विद्यार्थीको भविष्यमाथि नै खेलवाड त गरिरहेका छैनौँ ? पढ्न जान्नु, लेख्न जान्नुमा मात्र मापनको आधार सीमित बनाउँदा विशिष्ट प्रतिभा भएका कतिपय विद्यार्थीमाथि अन्याय हुन जान्छ भन्ने तर्फ हामी सचेत छैनौँ । जसको कारण उत्कृष्ट प्रतिभा भएका विद्यार्थी छाँयामा पर्ने र उनीहरुको प्रतिभा ओइलाएर जाने खतरालाई हामीले वास्ता नै गरेका छैनौँ । यो सरासर अन्याय हो । एउटा विद्यार्थीले स्वतस्फूर्त रुपबाट ज्ञान आर्जन गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । त्यसलाई कुण्ठित गर्नु कुन अर्थमा जायज मान्न सकिन्छ ?

नेपाल सरकारले विगत केही वर्ष यता माध्यमिक तहसम्म ग्रेडिङ प्रणाली लागू गरेको छ । ग्रेडिङ प्रणाली विश्वमा मान्यता पाएको स्तर मापनको आधार हो । तर हाम्रा विद्यालयहरु अझै पनि परम्परागत ढर्राबाट माथि उठ्न सकेको देखिँदैन । ग्रेडिङ प्रणालीले सोहीअनुसारको कक्षा क्रियाकलाप र दैनिक कार्य सम्पादनको मूल्याङकनको माग गर्छ । तर विडम्बना ४०–८० विद्यार्थी सङ्ख्या राखेर कक्षा सञ्चालन हुने विद्यालयमा विद्यार्थीको अभिलेखीकरण र दैनिक कार्यसम्पादन मूल्याङकन असम्भव प्रायः देखिन्छ । ग्रेडिङ प्रणालीको मर्मलाई बुझेर सोहीअनुसार कक्षा क्रियाकलाप र दैनिक कार्यसम्पादनको मूल्याङकन गर्ने हो भने विद्यार्थीको पठन संस्कृतिमा सकारात्मक प्रभाव त पार्छ नै आचरण र व्यवहारमा समेत परिवर्तन आउने निश्चित छ ।

-कृष्ण काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

29 Shares
Share29
Tweet
+1
Pin