संस्कृति

होली पर्व: विशेष

असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेको छ ।

आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।

यस पर्वमा ‘होलिका’को दहन हुन्छ । होलिका को थिइन्, यसको दहन किन गरिन्छ र प्रत्येक वर्ष होलिकाको प्रतिमूर्ति दहनको माध्यमबाट समाजलाई पर्वले के सन्देश दिन खोजिएको हो । यस विषयमा गहिरिएर विचार नगरी मात्र मीठो खाने, रङ्ग खेल्ने र गीत गाएर मनोरञ्जन मै सीमित रह्यो भने पर्वको मूल उद्देश्यमाथि नै चोट पर्छ ।

दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकालाई आगोमा नजल्ने बरदान ब्रह्माबाट प्राप्त भएको थियो । बरदानको सदुपयोग गर्नुका सट्टा कसैलाई जिउँदै जलाएर मार्नका लागि उनले बरदानको दुरुपयोग गरेको थियो । शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पु¥याउनेजस्ता गलत क्रियाकलापलाई अन्त्य गर, अर्थात आफ्नाभित्र रहेका ‘होलिका’ मानसिकतालाई जलाएर अन्त्य गर्नु र अवदेखि असल मानव बन्नुनै उद्देश्य राखेर प्रत्येक वर्ष फागुन पूर्णिमाका दिन होलिका दहन गर्ने गरिएको हो ।

किन मनाइन्छ होली पर्व?

वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाइने गर्छन् ।

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो । तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो ।

ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो । उल्टै आगोमा होलिकानै जलेर भष्म भइन् । असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post