राजनीति विचार

लोकतान्त्रिक टीकातन्त्र

लाग्थ्यो त्यहाँ दशैँको टीका होइन ‘म्यूजिकल चियर रेस’ भैरहेको छ । त्यो पनि नातावाद, कृपावादको नियमभित्र सीमित भई । जसको व्यवस्थापन राष्ट्रपतिको सचिवालयले ग¥यो ।

यस वर्षको दशैँ सम्पूर्ण नेपालीहरुको घरआँगनबाट विदा हुँदै छ । अब एक वर्षपछि मात्र यो अवसर जुट्ने छ, सबैलाई । दशैँ सांस्कृतिक पर्व भएकाले यसको आरम्भसँग विभिन्न मिथक, धर्म, संस्कार जोडिनु स्वभाविक नै हो । यो विभिन्न कालखण्डमा शक्तिसँग जुहारी खेल्दै शक्ति संरचनाको अधिस्थ बन्दै अगाडि बढ्यो । शक्तिले जसरी आफ्नो प्रभुत्व कायम रहन्छ सोही किसिमले दशैँलाई उपयोग गर्दै गयो भने शक्तिहीन ‘त्वम् शरणम् गच्छामी’ बन्दै गए ।

नेपालको इतिहासलाई हेर्दा पछिल्ला तीनवटा शक्ति संरचना बलशाली संरचना हुनभन्दा फरक नपर्ला । राणाको एकछत्र शासन, शाहवंश र दलीयतन्त्र । हाम्रो टीका परम्परा यी शक्तिको उदय हुनुभन्दा कयौं शताब्दी अगाडिको परम्परा हो । राणा शासकले दशैँलाई आफू अनुकूल उपयोग गरे । महाराज र प्रजाको दूरी कायम राख्नमै दशैँको महत्त्व देखे । शाहवंशीय शासन त सामन्ती संरचनाकै एउटा घटक थियो । आफूलाई देवत्वकरण गर्दै प्रजालाई आशीर्वाद थाप्नु दशैँको गरिमा हो भन्ने भ्रम फिजाँउनमै केन्द्रित भयो भने जनता रैतीकै रुपबाट टीका ग्रहण र आशीर्वाद ग्रहण गर्दै गए । जति टीका पोते पनि जति आशीर्वाद लिए पनि दुई चार जना आसेपासे र चाकडियाबाहेकको जीवन उकासिन पाएन ।

दशैँको टीकाको सांस्कारिक महत्त्वलाई कुल्चदै सामन्ती परम्परालाई निरन्तरता दिनुे दशैँको सांस्कारिक पक्ष होइन भन्नेहरु समेत शक्तिमा पुगेपछि पुरानै शैली र परम्परालाई निरन्तरता दिनुमै महानता ठानेको देख्दा अचम्म लाग्नु स्वभाविक नै हो । हामीले परिवर्तन गरेको राजनीतिक संरचना हो । व्यक्ति मानसिकता होइन । व्यक्ति मानसिकता राजनीतिसँग नजोडिएसम्म जतिसुकै परिवर्तन भनेपनि सतही हुन्छ । वास्तविक परिवर्तन हुँदैन । सामन्ती संरचना हेर्दा परिवर्तन जस्तो देखियो तर सामन्ती मानसिकता परिवर्तन हुन सकेन, यथार्थ यही नै हो ।

दशैँको टीकापछि सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बन्यो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पूर्व प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले घुँडा टेकेर टीका ग्रहण गर्दै गरेको दृश्य । यो दृश्य वास्तवमै रोचक त थियो नै त्यत्तिकै अशोभनीय । यसले एकातर्फ प्रगतिशील क्रान्तिकारी कम्युनिष्ट सरकारको वास्तविकता त उदाङ्गो पा¥यो नै त्यसभन्दा पनि माथि लोकतान्त्रिक शासनको प्रवृत्तिको धज्जी समेत उडायो । त्यतिमात्र नभई लोकतन्त्र, परिवर्तन र समानता केवल बोलीमा मात्र सीमित रहने कि व्यवहार त देखिनुपर्छ भन्ने प्रश्नसमेत उठायो ।

अझै रमाइलो दृश्य त कुर्ची राख्ने र हटाउने पो देखियो । विचरा ! सम्माननीय राष्ट्रपतिजीलाई आफू लोकतान्त्रिक देशको राष्ट्राध्यक्ष हो भन्ने समेत हेक्का रहेनछ । लाग्थ्यो त्यहाँ दशैँको टीका होइन ‘म्यूजिकल चियर रेस’ भैरहेको छ । त्यो पनि नातावाद, कृपावादको नियमभित्र सीमित भई । जसको व्यवस्थापन राष्ट्रपतिको सचिवालयले ग¥यो ।

मेरो विचारमा यो कुनै परिघटना होइन, यो त केवल पुरातन सामन्ती सोचको उपज हो । मान्छेलाई मान्छेको स्थान नदिने सामन्ती राज्यको चरित्र लोकतान्त्रिक सरकारको अलोकतान्त्रिक रवैया हो । लोकतन्त्रका निश्चित मानाङ्कहरु छन् तिनलाई कुल्चेर वा नाघेर अगाडि बढ्नु निरङ्कुश र स्वेच्छाचारी चरित्र हो ।

राष्ट्रपति निवासमात्र होइन, सेना, प्रहरीका प्रशासनिक निकायमा समेत सामन्ती चरित्र उस्तै देखिन्छ । शाहवंशीय शासनकै ढोगतन्त्र अहिले पनि कायम रहनु जस्तो लाजमर्दो विषय के हुन्छ ?

दशैँ अहिले केवल हिन्दूहरुमा सीमित नरही सम्पूर्ण नेपालीहरुको सांस्कृतिक पर्वका रुपमा विकास भएको छ । यो राष्ट्रिय पर्व पनि हो । दशैँले विकृत संस्कृतिको माग त गरेको छैन बरु परिवर्तनको आवश्यकता औँल्याएके छ । सम्पूर्ण नेपालीमा भाइचारा, सद्भाव र आत्मीयता विकास गर्न सकेमा नै दशैँको गरिमा कालजयी बन्नेछ । तसर्थ राज्यका उच्च ओहदामा आसिन व्यक्तिबाट नै यसको गरिमा र महत्त्वलाई लत्याउनु कदापि राम्रो मान्न सकिन्न ।

दशैँ सद्भावको पर्व हो । भेदभाव दशैँको विशेषता होइन । छोरो प्रधानमन्त्री भए पनि आफ्ना बा, आमासँग नै टीका थाप्न जानुपर्छ । अर्को कुरा यो कार्यालयीय प्रशासनिक पर्व होइन । व्यवस्था परिवर्तनसँगै समाजको आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा समेत परिवर्तन देखा पर्का छन् । यस्तो परिवर्तनको सारलाई आत्मसात् गर्दै परिवर्तित सन्दर्भमा दशैँ, तिहार, भोज, भतेर विवाह उत्सव जस्ता कार्यक्रमलाई राजनीतिबाट मुक्त गर्न सक्नुपर्छ अनि सरकारी निवास र कार्यालयमा देखिने सामन्ती सोचको अन्त्य गर्दै लोकतन्त्रलाई सुदृढ गर्नु नै वर्तमानको आवश्यकता हो ।

PM Oli receiving tika

Image Source: Google

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post