साहित्य

कवितामा नृत्य खोज्न प्रतिस्पर्धा

साहित्यमा विधा मिश्रण नौलो होइन । नाटकमा कविता, कथामा कविता नौलो होइन । पोखरामा आज यस्तै नौलो प्रयोग खोजियो– ‘कवितामा नृत्य’।

बाँच्नुपर्ने मजबुरीले सताएसि
केही थान युवायुवतीहरु सहर झरे
केही थान युवायुवतीहरु विदेश छिरे
उनीहरुसँगै घाँटु र सोरठीहरु पनि
गाउँ छाडेर सहर झरे
मारुनी र लाखे नाचहरुले
वोइङमा उडान भरे
केही साकेलाहरु युरोप अमेरिका पसे

बजाइरहेको छ समयले हामीलाई
रेटिरहेछ जिन्दगी सारङ्गी बनाएर
झलकमानका गीतहरुसँगै
‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन् …

प्रतियोगितामा प्रतिस्पर्धीले मौलिक संस्कृति लोप हुँदै गएकाप्रति चिन्ता मात्र व्यक्त गरेनन्, भावी पुस्ताका लागि जगेर्ना गर्नुपर्ने आवश्यकता पनि औंल्याए । चरम बेरोजगारीले गाउँहरु रित्ता बन्दै गएको र रित्ता गाउँसँगै मौलिक संस्कृति पनि रित्तिन लागेको चिन्ता त्यत्तिकै व्यक्त भयो ।

यसैगरी आधुनिकताको नाममा मौलिक संस्कृति विनाश बन्दै गएकामा चिन्ता गर्दै भावी पुस्ताले युट्युबमा नभइ टोलटोलमा संस्कृतिका झलक देख्न पाउनुपर्नेमा जोड दिए ।

तर आजभोलि त्यस्तो छैन
जबजब तिमीहरु प्रेमिकाको नितम्ब समाएर
कपल डान्स गर्न थाल्यौ
त्यसपछि हराउन थालेको छ ‘सालैजो’
जसरी अचेल हराउँदै छ सीमाबाट देश

त्यसैले जगाउँ सबैलाई र
जोगाउँ हाम्रो लोपोन्मुख संस्कृति ताकी
भोलिका पुस्ताले हाम्रो संस्कृति
युट्युबमा होइन
टोल–टोलमा देख्न पाउन् ।

यसको चाँजो पाँजो मिलाएको थियो, आयोजक संस्था ‘स्टार्स स्टुडियो प्रा.लि.’ कास्कीले । ‘नेपाली मौलिक नृत्य र त्यसले पारेको सकारात्मक प्रभाव’ लाई कवितामा उन्ने प्रयत्न गरे प्रतिस्पर्धीले ।

स्टार्स स्टुडियो प्रालि पोखराको दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा श्रीराम अधिकारी गोर्जे प्रथम, रुपन्देहीका बन्धु देश द्वितीय, ग्यालेक्सी माविकी जोना थापा मगर तृतीय, जुनियर सिटिजन्स् एकेडेमी कास्कीकी समिक्षा ठकुरी चौथो र छोरेपाटन माविकी अन्जना सुवेदी पाँचौ भएका थिए । पोखरेली कवि रमेश श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रमका निर्णायकमा रुपिन्द्र प्रभावी, अल्पज्ञानी र गौरी तमु रहेका थिए । स्टार्स स्टुडियो प्रालिकी प्रबन्धक जसु तमूको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रोशनी गुरुङले गरेकी थिइन् । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ स्थान हासिल प्रतिस्पर्धीलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार, २ हजार र १५ सय पुरस्कार दोस्रो वार्षिकोत्सवका दिन उपलब्ध गराइने प्रबन्धक जसु तमूले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post